नियम १४
परियोजना पहिचान, स्वीकृति तथा प्रकाशन
(१) ऐनको दफा २० को उपदफा (१) बमोजिम सम्बन्धित निकायले सार्वजनिक-निजी साझेदारीमा कार्यान्वयन गर्न सकिने परियोजनाको पहिचान गरी सूची तयार गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पहिचान गरिएका परियोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम परियोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन गर्दा देहायका विवरण सहितको प्रतिवेदन तयार गर्नु पर्नेछः-
(क) परियोजनाको नाम,
(ख) नेपाल सरकार, सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहको नीति, आवधिक योजना, वार्षिक कार्यक्रम तथा सम्बन्धित निकायका वार्षिक कार्यक्रम एवं प्राथमिकतामा परियोजना परेको विवरण,
(ग) ऐनको दफा १७ को उपदफा (२) बमोजिम परियोजना कार्यान्वयन हुने तरिका र सोको आधार,
(घ) परियोजना कार्यान्वयनको कार्यतालिका,
(ङ) परियोजना सार्वजनिक-निजी साझेदारीमा कार्यान्वयन हुन सक्ने भए सोको आधार,
(च) परियोजनाको सर्वेक्षण भए वा नभएको,
(छ) परियोजनाको अनुमानित लागत,
(ज) परियोजनाको सर्वेक्षण भई कार्यान्वयन चरणमा रहेको र कुनै कारणले कार्य सम्पन्न हुन नसकेको भए सोको यथार्थ विवरण र अवस्था,
(झ) आर्थिक, सामाजिक तथा वातावरणीय प्रभाव सम्बन्धी प्रारम्भिक विवरण,
(ज) अन्य आवश्यक विवरण ।
(४) उपनियम (३) बमोजिमको प्रतिवेदनका आधारमा सम्बन्धित निकायले प्रतिस्पर्धात्मक वा प्राथमिकताको क्षेत्र छनौट गरी परियोजनाको सूची स्वीकृत गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम स्वीकृत परियोजनाको सूची सम्बन्धित निकायले
प्रकाशन गर्नु पर्नेछ ।